
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
शिक्षण अस्पतालका फरेन्सिक प्रयोगशाला प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीमा परी मृत्यु भएका २४४ जनाको शव हालसम्म अस्पतालमा ल्याइएको हो। तीमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ।
अस्पतालमा ल्याइएका शवमध्ये २४ जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तको जिम्मा लगाइएको डा. चौधरीले जानकारी दिए।
हाल ५९ शव भने शिक्षण अस्पतालमै रहेको अस्पतालले जनाएको छ। तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
बाढीपछि फेला परेका शवको पहिचानका लागि अस्पतालमा पोस्टमार्टम, फरेन्सिक परीक्षण तथा आवश्यक नमुना संकलनलगायतका प्रक्रिया अघि बढाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे