
काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दिया जिल्लाको राजापुर नगरपालिकामा बाढी प्रभावित समुदायको संरक्षण, जीविकोपार्जन सुदृढीकरण तथा पारिस्थितिक प्रणाली पुनर्स्थापनाका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ। उक्त सहयोगमार्फत ‘जीवन (JEEVAN)’ परियोजना कार्यान्वयन गरिनेछ।
एक वर्ष अवधिको यो परियोजना तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई लक्षित गरी सञ्चालन हुनेछ। बाढी, नदी कटान तथा माछा स्रोतमा आएको कमीका कारण प्रभावित समुदायको खाद्य सुरक्षा र जीविकोपार्जनमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै करिब १४० न्यून आय भएका परिवारको जलवायु उत्थानशीलता अभिवृद्धि र आर्थिक अवसर विस्तार गर्ने लक्ष्य परियोजनाले लिएको छ।
परियोजनाअन्तर्गत डब्लूडब्लूएफ नेपालले जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी विकास, खोल्सा पुनर्स्थापना तथा अन्य प्रकृतिमा आधारित समाधानमार्फत बाढीको जोखिम न्यूनीकरण गर्नेछ। यसका साथै कृषियोग्य भूमि र बस्तीलाई डुबानबाट जोगाउने तथा स्थानीय पारिस्थितिक प्रणाली पुनर्जीवित गर्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यस पहलले समुदायमा दिगो र विविधीकृत जीविकोपार्जनका अवसर विस्तार गर्ने लक्ष्य पनि राखेको छ। होमस्टेमा आधारित पर्यापर्यटन प्रवर्द्धन, पशुपालन र कुखुरापालनमा सहयोग तथा उत्पादनको बजार पहुँच विस्तारजस्ता कार्यक्रममार्फत स्थानीय आयआर्जन बढाउने योजना रहेको छ। साथै, मेटलाइफका कर्मचारीहरूले स्वयंसेवकका रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी तालिम प्रदान गरी समुदायको क्षमता अभिवृद्धिमा योगदान गर्नेछन्।
परियोजनाले कर्णाली नदीको जैविक विविधता संरक्षणमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ। समुदायको माछा स्रोतमा निर्भरता घटाउँदै नदी डल्फिन, घडियाललगायत संकटापन्न जलचर प्रजातिको संरक्षणमा समेत परियोजनाले योगदान गर्ने जनाइएको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले जोखिम व्यवस्थापनमा पूर्वतयारी र रोकथामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै डब्लूडब्लूएफ नेपालसँगको सहकार्यले बाढी प्रभावित समुदायलाई थप सुरक्षित, उत्थानशील र आर्थिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले राजापुर क्षेत्रका सोनाहा र थारू समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै बाढी जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जन प्रवर्द्धनमा परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले मानिस र प्रकृतिको सहअस्तित्वलाई सुदृढ गर्ने उद्देश्यसहितको यस पहलमा सहयोग गरेकोमा मेटलाइफ फाउन्डेसनप्रति आभार व्यक्त गरे।
डब्लूडब्लूएफ नेपालले सन् १९९३ देखि नेपालमा जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, स्वच्छ जल प्रणाली, जलवायु अनुकूलन र दिगो जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ। त्यसैगरी, सन् १९७६ मा स्थापना भएको मेटलाइफ फाउन्डेसनले विश्वभर आर्थिक सशक्तीकरण, वित्तीय स्वास्थ्य र उत्थानशील समुदाय निर्माणका क्षेत्रमा एक अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे