
काठमाडौँ । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संयुक्त राज्य अमेरिकाले ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग आवश्यक परिरहेका बेला अमेरिकाले नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै थप मानवीय सहायता उपलब्ध गराउन लागेको उल्लेख गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित करिब १० हजार नागरिकलाई तीन महिनासम्म खाद्य सामग्री उपलब्ध गराइनेछ। खाद्य संकटमा परेका प्रभावित परिवारलाई आवश्यक जीवनरक्षक सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता परिचालन गरिने जनाइएको छ।
अमेरिकाले नेपालमा विपद्का कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न मानवीय सहायता उपलब्ध गराउन लागेको जनाएको छ। यसअघि पनि नेपालमा विभिन्न प्राकृतिक विपद्का समयमा अमेरिकाले राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे