
काठमाडौँ । इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो ज्वालामुखीय खरानी फैलिँदा आठ वटा विमानस्थलका उडान प्रभावित भएका छन्। उडान स्थगित भएपछि करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन् भने कम्तीमा १ हजार ५५८ उडान प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।
ज्वालामुखीबाट निस्किएको खरानीको बादल वायुमण्डलमा फैलिएपछि उडान सुरक्षालाई ध्यानमा राख्दै राजधानी जाकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित आठ विमानस्थलमा उडान स्थगित गरिएको हो। खरानीको बाक्लो तहका कारण विमानको उडान तथा अवतरणमा जोखिम बढेपछि अधिकारीहरूले विमानस्थल सञ्चालनमा रोक लगाएका हुन्।
शुक्रबार रातिदेखि सुरु भएको ज्वालामुखी गतिविधिका क्रममा लगातार भूकम्पीय कम्पन, लाभा विस्फोट तथा ठूलो आवाज सुनिएको थियो। आइतबार बिहान पुनः दुई पटक शक्तिशाली विस्फोट भएपछि विमानस्थल बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्। उडान अवरुद्ध हुँदा सिंगापुर, दोहा, सिड्नी र क्वालालम्पुरलगायत अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने यात्रुहरू बढी प्रभावित भएका छन्।
इन्डोनेसियाका यातायात मन्त्री दुदी पुर्वागान्धीले प्रभावित यात्रुलाई सहज बनाउन रद्द भएका उडानको रकम फिर्ता गर्ने प्रक्रिया छिटो अघि बढाउन एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिएका छन्। उनले यात्रुलाई उडानसम्बन्धी जानकारी समयमै उपलब्ध गराउनसमेत आग्रह गरेका छन्।
मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार ज्वालामुखीबाट निस्किएको खरानी करिब ५० हजार फिट उचाइसम्म पुगेको छ। खरानीको बादल हवाई मार्गमा फैलिँदा उडान सुरक्षामा थप चुनौती उत्पन्न भएको जनाइएको छ।
यसैबीच, इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले ज्वालामुखी प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म घरभित्रै बस्न र बाहिर निस्कनुपरे मास्क प्रयोग गर्न आग्रह गरेको छ। बाक्लो खरानीका कारण आँखा पोल्ने तथा सास फेर्न समस्या देखिएपछि प्रभावित क्षेत्रका केही स्थानमा विद्यालयसमेत बन्द गरिएको छ। ज्वालामुखीय खरानीका कारण स्थानीयस्तरमा माछा मार्ने गतिविधिसमेत प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे