
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगरस्थित कोशी अस्पताललाई पानी शुद्धीकरण प्रणाली तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो।
बैंकको विराटनगर शाखामार्फत उपलब्ध गराइएको उपकरण कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेसहित बैंक तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अस्पतालमा दैनिक सेवा लिन आउने बिरामी तथा उनीहरूका कुरुवालाई पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले उपकरण उपलब्ध गराइएको बैंकले जनाएको छ।
उपकरण ग्रहण गर्दै अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ र चिसो पिउने पानी उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य संस्थाको सेवा सुविधामा सुधार ल्याउन निजी क्षेत्रबाट हुने यस्ता सहयोगको प्रशंसा गरे।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य तथा सामाजिक विकासमा योगदान पुर्याउनु बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्ष भएको बताए।
उनले बैंकले वित्तीय सेवासँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार तथा सार्वजनिक संस्थाहरूको सेवा सुविधा सुधारमा सहयोग गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे