
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले दाहालमाथि विभागीय कारबाही गर्न सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार समितिले बिहीबार बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।
समितिको प्रतिवेदनमाथि अध्ययन गरी कारबाहीसम्बन्धी अन्तिम निर्णय लिइने मन्त्रालयका ती अधिकारीले जानकारी दिए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको विषय सार्वजनिक भएको थियो। जबरालाई असोज ११ गते राति काठमाडौँस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो।
त्यस घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो।
मन्त्रालयले सोही दिन अतिरिक्त महानिरीक्षक पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। निलम्बनमा पर्नुअघि दाहाल सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए।
सशस्त्र प्रहरी नियमावलीमा आचरणविपरीत कार्य गर्ने कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने व्यवस्था छ। समितिले सोही नियमावलीबमोजिम कारबाही सिफारिस गरेको हो।
छानबिन समितिको सिफारिससँगै दाहालमाथिको विभागीय कारबाही प्रक्रिया निर्णयको चरणमा पुगेको छ। यद्यपि, मन्त्रालयबाट अन्तिम निर्णय नभएसम्म उनको सेवासम्बन्धी अवस्था निलम्बनकै रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे