
काठमाडौं। दसैँ मनाउन राजधानीबाट आफ्नो घर फर्किने यात्रुको चाप बढेसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेहरूको लामो भीड लागेको छ। बिहान झिसमिसेदेखि नै सुदूरपश्चिम र कर्णालीलगायत लामो दूरीका गन्तव्यमा जाने यात्रु टिकट लिन घण्टौँसम्म लाममा बस्न बाध्य भएका छन्।
राजधानीमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी र दैनिक ज्यालादारी गर्ने श्रमिकसमेत दसैँ मनाउन घर फर्किने तयारीमा छन्। तर, सीमित सिट, यात्रुको बढ्दो चाप र आफूले चाहेको मितिमा टिकट पाइने वा नपाइने अनिश्चितताले यात्रुको चाडपर्वको उत्साहसँगै चिन्ता पनि बढाएको छ।
बसपार्कमा यात्रुको भीड व्यवस्थापन गर्न नागरिक सहायता कक्ष परिचालन गरिएको छ। टिकट काउन्टरमा गन्तव्यअनुसारको भाडादरसमेत सार्वजनिक गरिएको छ। बसपार्कभित्र रहेको डिजिटल सूचना पाटीमा पोखरा, बागलुङ, बुर्तिबाङ, रुकुम, बेनी, दरबाङ, फलेबास, मुक्तिनाथ, नेपालगञ्ज, राजापुर, धनगढी, बझाङ र बाजुरालगायतका गन्तव्य उल्लेख छन्।
टिकट काउन्टरभित्र फलामका बार लगाएर यात्रुलाई पालैपालो सेवा दिने व्यवस्था मिलाइएको छ। कर्मचारीले कम्प्युटरमार्फत सिटको उपलब्धता जाँच गरी टिकट वितरण गरिरहेका छन्। यसले काउन्टरभित्रको भीडलाई व्यवस्थित गर्न सहयोग पुर्याए पनि लामो समयसम्म पालो कुर्नुपर्ने यात्रुको समस्या भने कायमै छ।
डिजिटल युगमा पनि नगदबाटै टिकट खरिद
नयाँ बसपार्कमा देखिएको अर्को प्रमुख समस्या टिकट खरिदमा नगद कारोबारलाई प्राथमिकता दिनु हो। विभिन्न काउन्टरमा ‘नो अनलाइन, ओन्ली क्यास’ अर्थात् अनलाइन भुक्तानी नहुने र नगदबाट मात्रै कारोबार गर्नुपर्ने सूचना राखिएको छ।
नेपालका साना पसलदेखि ठूला व्यापारिक केन्द्रसम्म क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रचलन बढिरहेका बेला लामो दूरीको सार्वजनिक यातायातको टिकट खरिदमा समेत डिजिटल भुक्तानीको सुविधा नहुँदा यात्रुले असहजता भोग्नुपरेको छ।
विशेषगरी तीनदेखि पाँच हजार रुपैयाँसम्म भाडा तिरेर यात्रा गर्नुपर्ने यात्रुले टिकट खरिदका लागि नगद बोकेर हिँड्नुपर्दा सुरक्षाको जोखिमसमेत बढ्न सक्छ। भीडभाडमा नगद हराउने वा चोरी हुने सम्भावना पनि उत्तिकै रहन्छ। डिजिटल भुक्तानीको व्यवस्था नहुँदा कारोबारको अभिलेख र पारदर्शितासम्बन्धी प्रश्नसमेत उठ्ने गरेको छ।
यस्तो अवस्थामा टिकट काउन्टरमा क्यूआर कोड, मोबाइल बैंकिङ वा अन्य विद्युतीय भुक्तानीका माध्यम उपलब्ध गराउन सके यात्रुलाई सहज हुने देखिन्छ। यसले नगद व्यवस्थापनको झन्झट घटाउनुका साथै कारोबारको अभिलेख व्यवस्थित गर्नसमेत सहयोग पुर्याउन सक्छ।
सीमित सिटले यात्रुमा टिकट नपाइने चिन्ता
सुदूरपश्चिम र कर्णालीतर्फ जाने यात्रुका लागि दसैँको समयमा टिकट पाउन थप चुनौतीपूर्ण हुने गरेको छ। हवाई भाडा महँगो हुनु र लामो दूरीका सडकको अवस्थाबारे अनिश्चितता रहनुले यात्रुहरूलाई सडक यातायातमै निर्भर हुनुपर्ने अवस्था छ।
एसी तथा डिलक्स सेवाका सिटमा यात्रुको आकर्षण बढी हुँदा टिकट बुकिङ खुलेसँगै माग बढ्ने गरेको छ। विशेषगरी फूलपाती र महाअष्टमी आसपास घर पुग्ने योजना बनाएका विद्यार्थी तथा कर्मचारीले सीमित बिदाका कारण निश्चित मितिमा यात्रा गर्नुपर्ने बाध्यता छ।
यही कारण बिदा सुरु हुने आसपासका दिनका टिकट चाँडै सकिने चिन्ता यात्रुमा देखिन्छ। काउन्टरमा घण्टौँ लाम बसेर पनि आफूले चाहेको मिति र समयमा सिट पाउने सुनिश्चितता नहुँदा यात्रुको समय र श्रम दुवै खर्च भइरहेको छ।
टिकट खरिददेखि बस चढ्नेसम्मका नियम
नयाँ बसपार्कमा टिकट काट्ने यात्रुका लागि गन्तव्य, यात्रा मिति र समय टिकटमै उल्लेख भएअनुसार जाँच गर्न सूचना जारी गरिएको छ। टिकट काटिसकेपछि विवरणमा त्रुटि भएमा यात्रा प्रभावित हुन सक्ने भएकाले यात्रुलाई टिकट प्राप्त गरेलगत्तै विवरण यकिन गर्न आग्रह गरिएको छ।
त्यस्तै, बस नम्बर थाहा पाउन बस छुट्ने दिनको आधा घण्टाअघि काउन्टर नम्बर २२ वा २३ मा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ। सबै यात्रुले बसपार्कबाटै सवारीसाधन चढ्नुपर्ने नियमसमेत लागू गरिएको छ।
कलङ्की, कोटेश्वर वा अन्य स्थानमा बाटोमै गाडी कुर्ने प्रवृत्तिले ट्राफिक जाम, यात्रु चढाउने क्रममा अव्यवस्था तथा सिट व्यवस्थापनमा समस्या निम्त्याउन सक्ने भएकाले बसपार्कलाई प्रस्थानस्थलका रूपमा व्यवस्थित गर्न खोजिएको हो। यद्यपि, बस छुट्न आधा घण्टा बाँकी रहँदासम्म बस नम्बरको जानकारी नपाउँदा यात्रुमा अन्तिम समयसम्म अन्योल कायम रहन सक्छ।
यात्रुको चाप व्यवस्थापन मुख्य चुनौती
टिकट बुकिङको चाप बढेसँगै यात्रुको मागअनुसार सिट उपलब्ध गराउने, दोहोरो बुकिङ हुन नदिने र निर्धारित समयमा सवारीसाधन सञ्चालन गर्ने विषय यातायात व्यवसायीका लागि चुनौती बनेको छ।
दसैँ नजिकिँदै जाँदा बसपार्कमा यात्रुको चाप अझ बढ्ने सम्भावना छ। त्यसैले टिकट वितरणलाई पारदर्शी बनाउने, डिजिटल भुक्तानीको व्यवस्था गर्ने, यात्रुलाई समयमै बसको विवरण उपलब्ध गराउने तथा सहायता कक्षलाई प्रभावकारी बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।
दसैँ परिवारसँग भेटघाट, पुनर्मिलन र आशीर्वाद आदानप्रदान गर्ने प्रमुख नेपाली पर्व हो। तर घर फर्किनकै लागि घण्टौँ लाम बस्नुपर्ने, टिकटको अनिश्चितता झेल्नुपर्ने र नगद बोकेर हिँड्नुपर्ने अवस्थाले यात्राका क्रममा सर्वसाधारणले अतिरिक्त सास्ती भोग्नुपरेको छ। यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन टिकट वितरण प्रणालीमा सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे