
काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। नेपाली सैनिक ब्याटल स्कुलमा आयोजित अभ्यास मंसिर ९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।
अभ्यासको शुभारम्भ मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका छन्। संयुक्त अभ्यासमा नेपाली सेनाको ज्वालादल गण र भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका सैनिक टोली सहभागी भएका छन्।
अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकबीच सैद्धान्तिक र व्यावहारिक तालिम सञ्चालन गरिनेछ। यसका साथै सैनिक अनुभव, कार्यकौशल र व्यावसायिक ज्ञान आदानप्रदानमा समेत जोड दिइनेछ।
नेपाल र भारतबीचको सैनिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘अभ्यास सूर्यकिरण’ सन् २०१० देखि दुवै देशमा पालैपालो आयोजना हुँदै आएको छ। यसअन्तर्गत गत वर्ष सन् २०२५ डिसेम्बरमा भारतको पिथौरागढमा १९औँ संस्करण सम्पन्न भएको थियो।
संयुक्त सैनिक अभ्यासले दुवै देशका सेनाबीच आपसी समझदारी, समन्वय र व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै विपद् तथा मानवीय संकटका अवस्थामा संयुक्त रूपमा काम गर्ने क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे