
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्मको विवरणअनुसार कोषको नेपाली रुपैयाँतर्फ विभिन्न नौ वटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ ।
त्यसैगरी, कोषका दुई वटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई कार्यालयले उपलब्ध कुल रकममा समेटेको छ ।
विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।
कार्यालयका अनुसार विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कोषमा संकलित रकम परिचालन हुँदै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे