
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले नेपालमा राजसंस्था देशको दैनिक शासन चलाउनभन्दा संकटका बेला राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर राख्दै मिश्रले राजा आएपछि मात्र भ्रष्टाचार अन्त्य हुने वा सुशासन आउने भन्ने कुरा सही नभएको बताएका छन्। उनका अनुसार राजसंस्थाको मुख्य भूमिका देशमा ठूलो संकट आउँदा सबैलाई एक ठाउँमा ल्याउने राष्ट्रिय अभिभावकका रूपमा हुनुपर्ने हो।
नेपालमा राजनीतिक, सामाजिक र भूराजनीतिक अवस्था संवेदनशील बन्दै गएकाले भविष्यमा ठूला संकट आउन सक्ने उनको भनाइ छ। त्यस्तो अवस्थामा दल, जात, भाषा र धर्मभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्न सक्ने संस्थाको आवश्यकता पर्ने उनले बताए।
मिश्रले बेलायत, जापान, बेल्जियम र लक्जेम्बर्गजस्ता विकसित लोकतान्त्रिक देशले पनि राजसंस्था कायम राखेको उदाहरण दिएका छन्। उनका अनुसार ती देशले राजसंस्था देश चलाउन होइन, संकटका बेला राष्ट्रिय एकता र स्थायित्वका लागि जोगाएका हुन्।
नेपालबाट राजसंस्था हटाउनु ऐतिहासिक गल्ती भएको भन्दै मिश्रले भविष्यमा अर्को ठूलो संकट आए देशको अभिभावक को हुने भन्ने प्रश्न उठाएका छन्। गणतन्त्रमा पनि राष्ट्रिय अभिभावकको व्यवस्था हुन सक्ने भए पनि निर्णय देशको परिस्थितिअनुसार हुनुपर्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे