
काठमाडौं । अस्पतालका महत्वपूर्ण स्वास्थ्य उपकरणहरू लामो समयदेखि सञ्चालनमा नआउँदा उपचार तथा रोग निदान सेवा प्रभावित भएको पाइएको छ। जिन्सी निरीक्षणसम्बन्धी विवरणअनुसार अस्पतालका विभिन्न ४० वटा स्वास्थ्य उपकरण चालु अवस्थामा नरहेको र मर्मतसम्भार गर्नुपर्ने अवस्थामा रहेको पाइएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९९ को उपनियम (२) अनुसार जिन्सी निरीक्षण प्रतिवेदनमा मर्मतसम्भार गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको विवरण खुलाउनुपर्ने व्यवस्था छ। तर, अस्पतालका बायोमेडिकल इन्जिनियरिङ शाखाबाट प्राप्त विवरणले महत्वपूर्ण उपकरणहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको देखाएको छ।
अस्पतालको अपरेशन थिएटर, जनरल सर्जरी, एमआईसीयू, रेडियोलोजी, प्रयोगशाला, पेन क्लिनिक, आँखा ओपीडी तथा वार्डमा प्रयोग हुने अत्यावश्यक उपकरणहरू लामो समयदेखि सञ्चालनमा नरहेको पाइएको छ। एनेस्थेसिया मेसिन, अटोक्लेव, सी–आर्म, ओटी टेबल, अल्ट्रासाउन्ड, एक्स–रे, भेन्टिलेटर, इन्फ्युजन पम्प तथा अक्सिजन जेनेरेटर प्लान्टजस्ता उपकरण सामान्य मर्मतसम्भारको अभावमा २०७७ देखि २०८२ सम्म प्रयोगमा आउन नसकेको अवस्था रहेको छ।
आ.ब २०८१/८१ अनुसार कतिपय उपकरणमा कार्बन ब्रस सकिएको, कभर बिग्रिएको, पावर सप्लाई नभएकोलगायत सामान्य प्राविधिक समस्या रहे पनि समयमै मर्मत नगरिएको देखिएको छ। स्वास्थ्य उपकरणको एएमसी, सीएमसी, मर्मतसम्भार, वारेन्टी–ग्यारेन्टी, उपयोग अवधि तथा अवस्थासम्बन्धी अभिलेख व्यवस्थित राखी आवश्यकताका आधारमा समयमै मर्मतसम्भार गर्नुपर्ने देखिएको छ।
एक्स–रे मेसिन बिग्रिँदा बिरामीलाई समस्या
अस्पतालमा दुईवटा पोर्टेबलसहित पाँचवटा एक्स–रे मेसिन रहे पनि एउटा कम्पनीको एचएफ–१२५ मोडलको एक्स–रे मेसिन पार्टपुर्जा अभावका कारण विगत एक वर्षदेखि सञ्चालनमा नरहेको पाइएको छ। आवश्यक एक्स–रे सेवा प्रदान गर्ने मेसिनको अभाव हुँदा बिरामी रोग निदान सेवाबाट समेत वञ्चित हुनुपरेको उल्लेख छ।
त्यसैले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता उपकरणलाई प्राथमिकताका आधारमा समयमै मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने देखिएको छ।
२२ करोडको नयाँ एमआरआईपछि पुरानो मेसिन प्रयोगविहीन
अस्पतालमा ०.३५ टेस्ला र ३ टेस्ला क्षमताका दुईवटा एमआरआई मेसिन रहेका छन्। चीन सरकारबाट अनुदानमा प्राप्त ०.३५ टेस्ला क्षमताको एमआरआई मेसिनको इमेज रिजोलुसन कम भएकाले हाल सञ्चालनमा नरहेको पाइएको छ।
अस्पतालले नयाँ प्रविधिको ३ टेस्ला क्षमताको एमआरआई मेसिन २२ करोड रुपैयाँमा खरिद गरेपछि पुरानो मेसिन प्रयोग नगरी नयाँ मेसिनबाट मात्र सेवा सञ्चालन गर्दै आएको छ। पुरानो एमआरआईलाई सामान्य मर्मत गरी वैकल्पिक उपकरणका रूपमा प्रयोग गर्ने वा पुरानो प्रविधि प्रतिस्थापन तथा लिलाम गर्ने विषयमा अस्पतालले आवश्यक निर्णय लिनुपर्ने देखिएको छ।
ठूलो क्षमताको अक्सिजन प्लान्ट बन्द
अस्पतालमा रहेका दुईवटा अक्सिजन प्लान्टमध्ये २०७६ असारमा ८३ लाख रुपैयाँमा खरिद गरिएको दैनिक ५० सिलिन्डर उत्पादन क्षमताको प्लान्ट मात्र सञ्चालनमा रहेको छ। अर्को कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा अनुदानमा उपलब्ध गराएको दैनिक ३५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट करिब एक वर्ष सञ्चालन भए पनि त्यसपछि मर्मतसम्भारको अभावमा बन्द रहेको पाइएको छ।
ठूलो क्षमताको प्लान्ट बन्द भएपछि अस्पतालले बाह्य आपूर्तिकर्ताबाट अक्सिजन खरिद गर्नुपरेको छ। अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टलाई थप क्षति हुन नदिन नियमित मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सके अक्सिजन ग्यास खरिदमा हुने खर्चसमेत घटाउन सकिने देखिएको छ।
पाँचमध्ये एउटा मात्र एम्बुलेन्स सञ्चालनमा
अस्पतालमा चीन सरकारबाट प्राप्त दुईवटासहित पाँचवटा एम्बुलेन्स रहे पनि एउटा मात्र चालु अवस्थामा रहेको पाइएको छ। अनुदानमा प्राप्त दुईवटा एम्बुलेन्स मर्मतयोग्य नरहेको तथा बाँकी दुईवटा एम्बुलेन्समा आकस्मिक प्राविधिक उपकरण, अक्सिजन प्रयोगलगायतका समस्या रहेकाले बिरामी ओसारपसारका लागि अनुपयुक्त भएको उल्लेख छ।
बिरामी सेवाका लागि आवश्यक एम्बुलेन्स प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको अवस्थामा केही एम्बुलेन्स कर्मचारीको यातायात प्रयोजनमा प्रयोग भएको पाइएको छ। त्यसैले आवश्यक प्रक्रिया पूरा गरी एम्बुलेन्स सेवाको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
पाँच वर्षमा ३२ करोडभन्दा बढीको रिएजेन्ट खरिद
अस्पतालले पछिल्लो पाँच वर्षमा ३२ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको रिएजेन्ट खरिद गरेको पाइएको छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (३) अनुसार आपूर्ति गर्ने अधिकार एउटा मात्र आपूर्तिकर्तासँग भएको अवस्थामा त्यस्ता प्रोप्राइटरी मालसामान सम्बन्धित आपूर्तिकर्तामार्फत खरिद गर्न सकिने व्यवस्था छ।
तर, सहायता तथा अनुदानमार्फत प्राप्त मेसिनमा प्रयोग हुने सम्बन्धित रिएजेन्टको खरिद तथा प्रयोगका विषयमा पर्याप्त समन्वय भएको देखिएको छैन। प्रोप्राइटरी अर्थात् सीमित आपूर्तिकर्ताबाट मात्र उपलब्ध हुने रिएजेन्ट खरिद गर्दा अस्पतालले अधिकांश अवस्थामा प्रचलित खरिद कानुनबमोजिम बोलपत्र आह्वान नगरी मेसिन खरिदकै सम्झौतामा तीनदेखि पाँच वर्षसम्म रिएजेन्ट उपलब्ध गराउने व्यवस्था राखी सोझै वार्तामार्फत खरिद गरेको पाइएको छ।
स्वास्थ्य उपकरण खरिद गर्दाकै समयमा त्यसमा प्रयोग हुने रिएजेन्टको वास्तविक परिमाण यकिन गर्न नसक्दा खरिद प्रक्रिया पर्याप्त प्रतिस्पर्धी हुन नसकेको देखिएको छ। यस्तो अवस्थामा अस्पतालले खुला अन्तर्राष्ट्रिय बोलपत्रमार्फत रिएजेन्ट खरिद गर्ने वा मेसिन उपकरण भाडामा लिई त्यसमा आवश्यक रिएजेन्टसमेत समावेश गरी परीक्षणको नतिजाका आधारमा भुक्तानी गर्ने गरी खरिद प्रक्रिया अपनाउनु उपयुक्त हुने देखिएको छ।
प्रयोगशालामा दैनिक ३०० भन्दा बढी परीक्षण, उच्चस्तरीय सेवा भने अपुग
अस्पतालले स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०७३ अनुसार प्रयोगशाला सञ्चालन गरी नमुना सङ्कलन, परीक्षण तथा प्रतिवेदन प्रदान गर्दै आएको छ। अस्पतालको प्रयोगशालाबाट जैव रसायन, प्रतिरक्षा विज्ञान, रक्तविज्ञान, सूक्ष्मजीव विज्ञान, आणविक परीक्षण तथा हिस्टो–साइटोप्याथोलोजीअन्तर्गत दैनिक ३०० भन्दा बढी परीक्षण हुँदै आएका छन्।
तर, क्यान्सर रोग पहिचानका लागि आवश्यक इम्युनोहिस्टोकेमेस्ट्री, गर्भवती महिलाका लागि आवश्यक डबल तथा ट्रिपल मार्कर परीक्षण, ल्युकेमिया तथा हेमाटोलोजीसम्बन्धी उच्च प्राविधिक परीक्षणलगायतका सेवा उपलब्ध छैनन्। त्यस्ता परीक्षणका लागि बिरामीले अन्य प्रयोगशालामा जानुपर्ने बाध्यता रहेको छ।
त्यसैले अस्पतालले आवश्यकताअनुसार उच्च प्रविधियुक्त स्वास्थ्य उपकरण तथा प्रयोगशाला सुविधा विस्तार गरी रोग पहिचान र निदानका लागि आवश्यक परीक्षण सेवा नियमित तथा प्रभावकारी बनाउनुपर्ने देखिएको छ। साथै, स्वास्थ्य उपकरणको मर्मतसम्भार, उपयोग, अभिलेख व्यवस्थापन र प्रतिस्थापनसम्बन्धी स्पष्ट योजना बनाएर उपकरणलाई लामो समयसम्म प्रयोगविहीन अवस्थामा राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे