
पोखरा। मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। प्रदेश कार्यालय सञ्चालनमा आएसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई बीमा सेवा थप छिटो, सहज र गुणस्तरीय रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
नयाँ कार्यालयको उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्रसहित मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
गण्डकी प्रदेश कार्यालयमार्फत ग्राहकले बीमासम्बन्धी परामर्श, बीमालेखसम्बन्धी सेवा, दाबीसम्बन्धी सहजीकरण तथा अन्य ग्राहक सेवा आफ्नै प्रदेशबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। साथै, कार्यालयले बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै प्रदेशमा सेवाप्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गण्डकी प्रदेश मेहनती, सम्भावनायुक्त तथा उद्यमशील व्यक्ति, परिवार र व्यवसाय रहेको क्षेत्रका रूपमा रहेको बताउनुभयो। उहाँले प्रदेशमा कार्यालय स्थापना गर्नु कम्पनीको यस क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो।
“बीमा सेवा सबैका लागि सहज, पहुँचयोग्य र आवश्यकताअनुसार उपयोगी हुनुपर्छ,” उहाँले भन्नुभयो, “यस कार्यालयमार्फत ग्राहकसँग अझ नजिक हुँदै उनीहरूको आर्थिक भविष्यलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन योगदान पुर्याउनेछौँ।”
प्रदेश कार्यालय सञ्चालनमा आएपछि स्थानीय समुदायसँगको सहकार्य थप सुदृढ हुने तथा बीमा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कम्पनीको विश्वास छ। साथै, गण्डकी प्रदेशका विभिन्न व्यावसायिक संस्था तथा सरोकारवाला निकायसँगको सहकार्य विस्तार गर्नसमेत कार्यालयले सहयोग गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार गण्डकी प्रदेशमा सेवा विस्तारसँगै देशभरका व्यक्ति, परिवार तथा व्यवसायलाई भरपर्दो बीमा सुरक्षा र आर्थिक सुरक्षासम्बन्धी सेवा थप सहज तथा पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइएको छ।
मेटलाइफ, इंकको सहायक संस्था तथा अमेरिकामा स्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा सञ्चालन हुँदै आएको छ। कम्पनीले नेपालमा व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायत विभिन्न बीमा योजना उपलब्ध गराउँदै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे