
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीमा आधारित नीति तथा कार्यक्रम अघि बढाउने भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारिएको नीति तथा कार्यक्रमको मस्यौदामाथि विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको बैठकमा विस्तृत छलफल गरिएको हो।
बैठकमा छलफल भएका नीति तथा कार्यक्रमलाई योजना परिषद्को पूर्ण बैठकबाट अनुमोदन गरी आगामी विश्वविद्यालय सभामा प्रस्तुत गरिने जनाइएको छ।
विश्वविद्यालयका उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको गुणस्तर अभिवृद्धिलाई आगामी नीति तथा कार्यक्रमको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने बताएका थिए।
बैठकमा योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा. लक्ष्मीकान्त शर्माले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश गरिएका प्राथमिकता, उद्देश्य र प्रमुख कार्यक्रमबारे प्रस्तुति दिएका थिए।
छलफलका क्रममा योजना परिषद्का सदस्यहरूले विश्वविद्यालयको सेवा प्रणालीलाई समयानुकूल, गुणस्तरीय तथा प्रविधिमैत्री बनाउने विषयमा विभिन्न सुझाव दिएका थिए। प्राप्त सुझावलाई समेटेर नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिई योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालय सभामा पेस गरिने विश्वविद्यालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे