
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
भिडियोमा एक महिलाले पानकोट पुलको पश्चिमतर्फको रेलिङ पाइपमुनिबाट कुकुरलाई धकेलेर सेती नदीमा फालेको देखिएको थियो। भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो।
भिडियोका आधारमा अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले कुकुरलाई पुलबाट नदीमा फाल्ने महिला रोकाया रहेको पहिचान गरेको जनाएको छ। पहिचान खुलेपछि प्रहरीले उनलाई १ गते बेलुकी नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी रोकायामाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे