
काठमाडौँ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले तीजका दिन मन्दिरमा आउने व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले विशेष व्यवस्था मिलाएको जनाएको छ।
यही भदौ २९ गते सोमबार परेको हरितालिका तीजमा भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिर खुल्नुअघि नै दर्शन व्यवस्थापनको तयारी पूरा गरिने कोषले जनाएको छ। मन्दिरमा प्रवेश गर्ने भक्तजनको भीड व्यवस्थित गर्न उत्तर, पूर्व र दक्षिणतर्फका तीन स्थानमा पारदर्शी जाली राखेर दर्शन गर्ने व्यवस्था मिलाइनेछ।
भक्तजनको अत्यधिक चापका कारण मन्दिर परिसरमा अव्यवस्थित भीड नहोस् तथा दर्शनार्थीले सहज रूपमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कोषले जनाएको छ।
कोषका अनुसार तीजका अवसरमा विगतका वर्षमा जस्तै यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था गरिनेछ। सनातन हिन्दु महिलाको प्रमुख पर्वका रूपमा मनाइने हरितालिका तीजमा प्रत्येक वर्ष नेपालका विभिन्न स्थानसँगै विदेशबाट समेत ठूलो संख्यामा व्रतालु तथा भक्तजन पशुपतिनाथ पुग्ने गरेका छन्।
पर्वलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल सरकारअन्तर्गतका सुरक्षा निकाय तथा सम्बन्धित संस्थासँग आवश्यक समन्वय गरिएको कोषले जनाएको छ। दर्शन व्यवस्थापनसँगै सुरक्षा, स्वयंसेवा तथा स्वास्थ्य सेवासहित भक्तजनका लागि आवश्यक अन्य सेवासमेत अधिकतम रूपमा उपलब्ध गराउने तयारी गरिएको छ।
तीजका दिन भक्तजनको चापलाई व्यवस्थित गर्दै मन्दिर दर्शनलाई सहज बनाउने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तथा आपत्कालीन अवस्थाका लागि आवश्यक तयारी राख्ने गरी व्यवस्थापन मिलाइएको कोषको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे