
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको भन्दै त्यसको प्रत्यक्ष असर आम मानिसको दैनिक जीवनमा परिरहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै उनले विश्वमा उत्पन्न हुने कुनै पनि संकट एउटा देशमा मात्र सीमित नरहने भएकाले सदस्य राष्ट्रबीच सहकार्य र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिए।
मोदीले महामारी, जलवायुजन्य विपद् तथा आपूर्ति शृंखलामा आएका अवरोधले विश्वका देशहरू एकअर्कासँग कति गहिरोसँग जोडिएका छन् भन्ने स्पष्ट पारेको बताए। उनका अनुसार विश्वको कुनै एक स्थानमा उत्पन्न हुने संकटले अन्य मुलुकको अर्थतन्त्र, जनजीवन र आपूर्ति व्यवस्थासमेत प्रभावित पार्न सक्छ।
सम्मेलनको सुरुवातमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूको सामूहिक फोटोसेसन गरिएको थियो। फोटोसेसनमा भारतीय प्रधानमन्त्री मोदीको दायाँतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङ र बायाँतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेका थिए।
मोदीले ‘ग्लोबल साउथ’का मुलुकहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको दाबी गरे। ब्रिक्समा विकासशील मुलुकका आवाजलाई सुनिने र उनीहरूका अनुभवलाई महत्व दिइने भएकाले संगठनप्रति विश्वास बढेको उनको भनाइ थियो।
उनले ब्रिक्सको प्रमुख शक्ति सदस्य राष्ट्रबीच रहेको विविधता र आपसी सहयोग भएको बताए। भारतमा प्रकृतिलाई आमाका रूपमा सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्दै मोदीले विकास र वातावरण संरक्षणलाई एकअर्काको विरोधीका रूपमा नभई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।
विश्वमा बढिरहेका विभिन्न संकटलाई ध्यानमा राख्दै भारतले ब्रिक्स सदस्य राष्ट्रलाई पूर्वतयारी र जोखिम न्यूनीकरणमा जोड दिएको मोदीले बताए। संक्रामक रोगको फैलावट रोक्न तथा त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न ‘ब्रिक्स इन्टिग्रेटेड अर्ली वार्निङ सिस्टम’ निर्माणमा सहमति भएको उनले जानकारी दिए।
त्यस्तै, विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनीसँग सम्बन्धित तथ्यांक एकीकृत गर्न आवश्यक दिशानिर्देशसमेत तयार गरिएको उनले बताए। भारतको अध्यक्षतामा ब्रिक्सका गतिविधिलाई लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपन गरी चार प्रमुख विषयमा केन्द्रित गरिएको मोदीको भनाइ थियो।
मोदीले साना तथा मझौला व्यवसायलाई नयाँ बजार, वित्तीय स्रोत र आवश्यक सूचनासँग जोड्न ‘ब्रिक्स एमएसएमई पोर्टल’ सञ्चालनमा ल्याइएको बताए। यसबाट सदस्य राष्ट्रका साना तथा मझौला व्यवसायबीच सहकार्य र बजार पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उनका अनुसार ‘ब्रिक्स कनेक्ट’मार्फत रोजगारीका लागि आवश्यक सीप विकास, रोजगारी विस्तार तथा महिलाका लागि थप रोजगारीका अवसर सिर्जना गर्ने काम अघि बढाइएको छ।
ब्रिक्स सदस्य राष्ट्रबीचको आपूर्ति शृंखलालाई थप विश्वसनीय र मजबुत बनाउन ‘ब्रिक्स लजिस्टिक सप्लाई चेन कोअपरेसन फ्रेमवर्क’ले सहयोग गर्ने मोदीले बताए। सदस्य राष्ट्रका स्टार्टअपलाई आपसमा जोड्न ‘ब्रिक्स इन्क्युबेटर नेटवर्क’ स्थापना गर्ने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ प्रस्ताव गरिएको जानकारी पनि उनले दिए।
ब्रिक्स शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले नयाँदिल्ली घोषणापत्र स्वीकृत गरेका छन्। घोषणापत्रमार्फत विभिन्न अन्तर्राष्ट्रिय विषयमा सदस्य राष्ट्रहरूको साझा धारणा सार्वजनिक गरिएको छ।
घोषणापत्रमा रुस र चीनसहित ब्रिक्स सदस्य राष्ट्रहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। आतंकवादीलाई आश्रय दिने तथा उनीहरूसम्म पुग्ने वित्तीय स्रोत रोक्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धतासमेत सदस्य राष्ट्रहरूले व्यक्त गरेका छन्।
ब्रिक्समा हाल ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरब र इन्डोनेसियासहित ११ राष्ट्र सदस्य छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे