
काठमाडौँ – काठमाडौँ उपत्यकामा बिहीबारदेखि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम भएको छ। सडकमार्ग खुलेर ग्यासका बुलेटहरू काठमाडौँ आउन थालेपछि मूल्य घटाएर पुरानै दर कायम गरिएको हो।
भदौ १४ गते कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग बन्द भएपछि तराईबाट साना सवारीसाधन प्रयोग गरी ग्यास ल्याउनुपरेको थियो। यसले ढुवानी खर्च बढाएपछि ग्यासको मूल्य २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको थियो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुन्छ। अहिले त्यही हाराहारीमा ग्यास भित्रिए पनि केही समय अभाव हुँदा उपभोक्ताले डिलरमा लामो लाइन बस्नुपरेको थियो।
नेपाल आयल निगमका अनुसार मंगलबार ६ र बुधबार २५ वटा ग्यास बुलेट काठमाडौँ प्रवेश गरेका छन्। एउटा बुलेटमा करिब १ हजार २५० सिलिन्डर ग्यास आउँछ। धादिङका ग्यास उद्योगबाट नियमित रूपमा ग्यास बजारमा पठाउन थालेपछि अभाव कम हुने अपेक्षा गरिएको छ।
यसैबीच, भारतबाट थप १६० ग्यास बुलेट ल्याउने विषयमा सकारात्मक पहल भइरहेको छ। सरकारले ग्यासको मासिक आयात पनि बढाउने प्रयास गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे