
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा बाढीका कारण फसेका पाँच कर्मचारीको शव बिहीबार परिवारलाई हस्तान्तरण गरिएको छ। बाढीपछि केन्द्रभित्र हराइरहेका उनीहरूको शव बुधबार दिउँसो फेला परेको थियो।
मृत्यु हुनेमा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्।
उनीहरूको शव जलविद्युत् केन्द्रको सुरुङभित्र बाहिरी भागबाट करिब १५० मिटर भित्र रहेको कन्ट्रोल रुम नजिक भेटिएको थियो। नेपाली सेनाको हेलिकप्टरबाट शव नुवाकोट लगेर सम्बन्धित परिवारलाई बुझाइएको चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले जानकारी दिए।
भोटेकोशी नदीमा आएको ठूलो बाढीले जलविद्युत् केन्द्रमा व्यापक क्षति पुर्याएको छ। बाढी सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म पुगेको थियो। बाढीले दुई वटा टर्बाइनसहित केन्द्रका धेरै संरचना ध्वस्त भएका छन्।
उद्धारमा नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी र विद्युत् प्राधिकरणका कर्मचारी परिचालित भएका थिए। अहिले पनि खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ। क्षतिको विवरण संकलन गर्न २५ सदस्यीय समिति गठन गरिएको छ। बाढीपछि फैलिन सक्ने हैजा तथा अन्य रोग रोक्न औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे