
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश तथा अन्य आकस्मिक अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो। स्वास्थ्य उपचारका लागि आवश्यक यी उपकरणले विशेषगरी सर्पदंशलगायतका आकस्मिक अवस्थामा बिरामीको उपचार तथा निगरानीमा सहयोग पुग्ने बैंकले जनाएको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमादेवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।
उपकरण ग्रहण गर्दै रेडक्रस सोसाइटीकी सभापति बुढाथोकीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। उनले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निरन्तर निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा आवश्यक सहयोग पुर्याउन सक्सन मेसिन उपयोगी हुने बताइन्।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकतामध्ये एक भएकाले स्थानीयस्तरमा उपलब्ध स्वास्थ्य स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
बैंकको सहयोगले दमक क्षेत्रका नागरिकलाई आकस्मिक अवस्थामा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।
बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवासँग सम्बन्धित कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे