
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन्।
मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गरेका मन्त्री पोखरेलले काठमाडौँमा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई परिवर्तन गर्नुपर्ने बताए। विद्यालय र समुदायमै पुगेर प्राप्त सुझावले शिक्षा क्षेत्रका वास्तविक समस्या तथा आवश्यकता पहिचान गर्न सहयोग पुगेको उनको भनाइ छ।
“विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,” मन्त्री पोखरेलले भने, “उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ।”
भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेस भ्रमण सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो। भ्रमणका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता तथा सुधारका विषयमा प्रत्यक्ष छलफल गरी सुझाव सङ्कलन गरिएको थियो।
मन्त्री पोखरेलले भ्रमणका क्रममा काठमाडौँमा बसेर सहजै जानकारी लिन नसकिने शिक्षा क्षेत्रका स्थानीय समस्या र व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको बताए। कक्षाकोठादेखि समुदायसम्म पुगेर सङ्कलन गरिएका अनुभव र सुझाव आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणका लागि महत्त्वपूर्ण आधार बन्ने उनको भनाइ छ।
उनका अनुसार भ्रमणका क्रममा प्राप्त समस्या, अनुभव र सुझावलाई तथ्य तथा प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिनेछ। वास्तविक समस्या र स्थानीय आवश्यकतालाई आधार बनाएर नीति निर्माण गर्नुपर्ने भन्दै उनले सङ्कलित सुझावलाई आगामी नीति तथा कानुन निर्माणमा उपयोग गरिने बताए।
मन्त्री पोखरेलले मधेस प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै कृषि शिक्षाको विस्तार र कृषि कलेज स्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री पोखरेलले सप्तरीको तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयको अनुगमन गरी विद्यालयको शैक्षिक अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए। सो क्रममा विद्यार्थीबाट पाठ्यक्रम निर्माण तथा शिक्षा प्रणाली सुधारका विषयमा सुझावसमेत लिइएको थियो।
त्यस्तै, बोदेबर्साइन नगरपालिका–३ स्थित श्री ईश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय, सारस्वर तथा शम्भुनाथ नगरपालिका–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमुना माध्यमिक विद्यालय, भगवतपुर बडहरीमा पनि विद्यार्थी, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गरी शिक्षा सुधार र पाठ्यक्रम परिमार्जनसम्बन्धी सुझाव सङ्कलन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गजेन्द्रप्रसाद दासले शिक्षामन्त्री स्वयं विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकका समस्या सुनेकोमा खुसी व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार र प्रविधियुक्त शैक्षिक सामग्रीको आवश्यकता रहेको बताए।
मन्त्री पोखरेलले राजविराज नगरपालिका तथा खडक नगरपालिकाका विभिन्न विद्यालयमा पनि विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। त्यस क्रममा विद्यार्थीहरूले पाठ्यक्रममा व्यावहारिक तथा जीवनोपयोगी विषयलाई प्राथमिकता दिनुपर्ने, अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने तथा विद्यालयको भौतिक र प्रविधिगत अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका थिए।
भ्रमणका क्रममा मन्त्रीसहितको टोलीले बर्दिबासमा निर्माण गर्ने प्रस्ताव गरिएको मेडिकल कलेजको स्थलसमेत अवलोकन गरेको थियो। टोलीले स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी मेडिकल कलेज निर्माणसँग सम्बन्धित स्थानीय आवश्यकता, अपेक्षा र सुझावबारे जानकारी लिएको थियो।
मन्त्री पोखरेलले मधेस प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा तथा खेलकुद क्षेत्रका समस्या समाधान र पूर्वाधार विकासमा काम गर्नुपर्नेमा जोड दिए।
भ्रमणमा प्रतिनिधिसभा सदस्य सीताराम साह, डा. अकिता ठाकुर, शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायत सहभागी थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे