
काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था लागू गर्ने निर्णय गरेको छ । अब उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास लिन सक्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई आवश्यक व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।
मन्त्रालयका अनुसार बाढीबाट उत्पन्न आपूर्ति अवरोधका कारण उपभोक्तालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था गरिएको हो । नियमित रूपमा प्रयोग गर्ने ब्रान्डको ग्यास उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत ग्यास प्राप्त गर्न सक्ने गरी वैकल्पिक वितरण प्रणाली अपनाइएको मन्त्रालयले जनाएको छ ।
सरकारका अनुसार यो व्यवस्था हाललाई काठमाडौँ उपत्यकामा मात्र लागू हुनेछ । आपूर्ति प्रणाली सामान्य अवस्थामा नफर्किएसम्म उपभोक्ताले खाना पकाउने ग्यासको अभाव भोग्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
मन्त्री यादवले विपद्को अवस्थालाई अनुचित लाभ लिने अवसरका रूपमा प्रयोग गरी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक सास्ती दिने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।
सरकारले ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई नियमित र प्रभावकारी बनाउन नेपाल आयल निगम, ग्यास उद्योग तथा सम्बन्धित पक्षलाई सक्रिय रहन निर्देशन दिएको छ । साथै, वितरणका क्रममा देखिन सक्ने अवरोध तत्काल हटाई उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे