
काठमाडौँ । हरितालिका तीजका अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन व्रतालु महिला बिहानैदेखि पशुपतिनाथ पुगेर पूजाआजा, दर्शन तथा शिवको आराधना गरिरहेका छन्।
पशुपति क्षेत्र विकास कोषले तीजका अवसरमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलेको थियो। दर्शनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आएका भक्तजनका कारण जयवागेश्वरी, गौशाला, तिलगङ्गा, वनकालीलगायत क्षेत्रदेखि मन्दिर परिसर आसपाससम्म लामो लाइन लागेको थियो।
रातो साडी, कुर्ता तथा अन्य परम्परागत पहिरनमा सजिएका महिलाको उपस्थितिले पशुपति क्षेत्र तीजमय बनेको छ। हातमा पूजाका सामग्री बोकेर आएका व्रतालुहरू लाममा बसेर पालो पर्खँदै ‘ॐ नमः शिवाय’ लगायतका धार्मिक मन्त्र उच्चारण गरिरहेका देखिन्छन्। कतिपय महिलाले मन्दिर तथा परिसरमा रहेका शिवलिङ्गमा जल, दूध, बेलपत्र र धतुरोलगायतका सामग्री अर्पण गर्दै पूजाआजा गरेका छन्।
हरितालिका तीजमा महिलाहरूले शिव–पार्वतीको पूजा गरी पारिवारिक सुख, शान्ति, समृद्धि तथा पति र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा रहँदै आएको छ। विशेषगरी विवाहित तथा अविवाहित महिलाहरूले तीजको दिन व्रत बसेर शिवको पूजा गर्ने गरेका छन्।
पशुपतिनाथमा दर्शनपछि बाहिर निस्किएका महिलाहरू समूह बनाएर तीजका गीतमा नाचगान गरिरहेका छन्। वनकाली, हंसमण्डप तथा पशुपति क्षेत्रका विभिन्न खुला स्थानमा महिला समूह बनाएर नाच्ने, गीत गाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने क्रम चलेको छ। परम्परागत तीजका भाकासँगै पछिल्लो समयका गीतमा समेत महिलाहरू रमाइरहेका छन्।
तीजका अवसरमा पशुपति क्षेत्रमा विभिन्न उमेर समूहका महिलाको उल्लेख्य सहभागिता देखिएको छ। ज्येष्ठ नागरिकदेखि किशोरी तथा युवतीसम्मका महिला रातो पहिरनमा सजिएर पूजाआजा तथा नाचगानमा सहभागी भएका छन्। कतिपय परिवारका तीन पुस्तासम्मका सदस्य एकैसाथ पशुपति पुगेर पूजाआजा गरेका छन्।
भक्तजनको भीडलाई व्यवस्थित तथा सुरक्षित बनाउन पशुपति क्षेत्र विकास कोषसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको परिचालन गरिएको छ। दर्शनार्थीको आवागमन व्यवस्थापन, भीड नियन्त्रण तथा सम्भावित दुर्घटना रोक्न सुरक्षा निकायले विभिन्न स्थानमा जनशक्ति परिचालन गरेका छन्।
निर्जला व्रत बसेका कारण लामो समय लाइनमा बस्दा व्रतालुमा स्वास्थ्य समस्या आउन सक्ने भएकाले पशुपति क्षेत्रमा स्वास्थ्य सेवासमेत सञ्चालन गरिएको छ। स्वास्थ्यकर्मीहरूले आवश्यकताअनुसार रक्तचाप जाँच, प्राथमिक उपचार तथा आरामको व्यवस्था गरिरहेका छन्। बागमती नदी क्षेत्रमा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै आपत्कालीन उद्धारका लागि उद्धार सामग्रीसहितको टोलीसमेत तयारी अवस्थामा राखिएको छ।
तीजको अवसरमा पशुपति क्षेत्रको धार्मिक गतिविधिसँगै सञ्चारमाध्यमको उपस्थिति पनि उल्लेख्य छ। देश तथा विदेशमा रहेका दर्शकसम्म पशुपति क्षेत्रको गतिविधि प्रत्यक्ष तथा समाचारमार्फत पुर्याउन सञ्चारकर्मीहरू बिहानैदेखि खटिएका छन्।
हरितालिका तीज नेपाली महिलाको धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्परासँग जोडिएको प्रमुख पर्वका रूपमा मनाइँदै आएको छ। पशुपतिनाथमा हुने विशेष पूजाआजा, दर्शन, व्रत तथा तीजका गीत–नाचले हरेक वर्ष यस क्षेत्रलाई विशेष आकर्षणको केन्द्र बनाउने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे