
हेटौँडा । हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएपछि दुवै मार्गमा लगाइएको एकतर्फी यातायात व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार कृष्णभीर खण्डमा यातायात सञ्चालन सहज भएसँगै त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुवैतर्फी सवारीसाधन सञ्चालन गर्न दिइएको हो।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडाबाट टीकाभैरव हुँदै ललितपुर तथा काठमाडौं उपत्यकासँग जोड्ने गर्दछ।
यसअघि कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले गत भदौ १६ गतेदेखि वैकल्पिक यातायात व्यवस्था लागू गरेको थियो। उक्त व्यवस्थाअनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था गरिएको थियो।
कृष्णभीर खण्डमा सडक पुनः सञ्चालनमा आएसँगै उक्त व्यवस्था हटाइएको हो। अब दुवै मार्गमा सवारीसाधनले नियमित रूपमा दुईतर्फी आवागमन गर्न सक्ने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे