
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ प्रतिनिधिसँग आज छलफल गर्दै हुनुहुन्छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन भइरहेको छलफल शृंखलाअन्तर्गत बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्न लागिएको हो।
अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजेदेखि सुरु हुने छलफलमा नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका विदेशी तथा स्वदेशी साझेदारलाई आमन्त्रण गरिएको छ। छलफलमा नेपालमा लगानी गरिरहेका कम्पनीले भोगिरहेका समस्या, सरकारले बजेटमार्फत उपलब्ध गराएका सुविधा तथा लगानी विस्तारका सम्भावनाबारे छलफल हुने जनाइएको छ।
अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीबाट प्राप्त प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आफ्ना धारणा स्पष्ट रूपमा राख्न आग्रह गर्नुहुनेछ। साथै, कम्पनीहरूले भोगिरहेका समस्या तथा आवश्यक सुधारका विषय लिखित रूपमा समेत पेस गर्न आग्रह गरिने बताइएको छ।
सरकारले निजी क्षेत्रसँग प्रत्यक्ष संवादमार्फत बजेट कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्ने तथा लगानीको वातावरण सुधार गर्ने उद्देश्यले छलफल शृंखला सञ्चालन गरिरहेको छ। यसै क्रममा अर्थमन्त्री वाग्लेले यसअघि नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसक्नुभएको छ।
त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग समेत छलफल गरिसक्नुभएको छ। निजी क्षेत्र, बैंकिङ क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीसँगको प्रत्यक्ष संवादबाट लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन आवश्यक नीतिगत तथा व्यावहारिक सुधार पहिचान गर्ने सरकारको तयारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे