
काठमाडौं । नेपालमा विद्युतीय तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग पछिल्लो आर्थिक वर्षमा उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४/२५ मा मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, वालेट, इन्टरनेट बैंकिङ तथा द्रुत भुक्तानी प्रणालीमार्फत हुने कारोबारको संख्या र रकम दुवै बढेका छन्।
आर्थिक वर्ष २०२३/२४ को तुलनामा २०२४/२५ मा मोबाइल बैंकिङ कारोबारको संख्या ४४.८ प्रतिशतले बढेर ६१ करोड ४१ लाख पुगेको छ। यसमार्फत भएको कुल कारोबार रकम पनि ४४.३ प्रतिशतले बढेर ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, क्यूआरमा आधारित भुक्तानीको प्रयोगमा अझ तीव्र विस्तार भएको छ। एक वर्षमा क्यूआर कारोबारको संख्या ९२.५ प्रतिशतले बढेर ३२ करोड ५९ लाख पुगेको छ भने कारोबार रकम ९१.८ प्रतिशतले बढेर ९ खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
वालेटमार्फत हुने कारोबार पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०२४/२५ मा वालेट कारोबार संख्या ३६.१ प्रतिशतले बढेर ४० करोड ९ लाख पुगेको छ। कारोबार रकम भने ६७.३ प्रतिशतले बढेर ५ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ।
द्रुत भुक्तानी प्रणालीमार्फत हुने कारोबार संख्या ३४.६ प्रतिशतले बढेर १७ करोड २७ लाख पुगेको छ। सोही अवधिमा यस प्रणालीमार्फत भएको कारोबार रकम ३३.७ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
इन्टरनेट बैंकिङको प्रयोगमा पनि उल्लेख्य वृद्धि भएको छ। यसको कारोबार संख्या ४१.२ प्रतिशतले बढेर ४९ लाख ६१ हजार पुगेको छ भने कारोबार रकम ३७.७ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
कार्डमा आधारित भुक्तानीतर्फ प्रिपेड कार्डको प्रयोग सबैभन्दा तीव्र गतिमा बढेको छ। प्रिपेड कार्ड कारोबार संख्या ४०.७ प्रतिशतले बढेर १६ लाख १२ हजार पुगेको छ भने कारोबार रकम ६६.५ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। क्रेडिट कार्ड कारोबार संख्या २.२ प्रतिशतले बढ्दा कारोबार रकम १०.५ प्रतिशतले वृद्धि भएको छ।
ई–कमर्स कारोबार पनि ३९.९ प्रतिशतले बढेर २० लाख ६३ हजार पुगेको छ। यसमार्फत भएको कारोबार रकम ५३.५ प्रतिशतले बढेर १३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्वाइन्ट अफ सेल्स (पीओएस) कारोबार संख्या ३ प्रतिशत र रकम १०.४ प्रतिशतले बढेको छ।
नेपालको प्रमुख भुक्तानी पूर्वाधारमध्ये आरटीजीएस कारोबार संख्या ४ प्रतिशतले बढेर ८ लाख ४२ हजार पुगेको छ। आरटीजीएसमार्फत भएको कुल कारोबार रकम भने ९४.४ प्रतिशतले उकालो लागेर ७४ खर्ब ९० अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (ईसीसी) को कारोबार संख्या ५.१ प्रतिशत र रकम ६.६ प्रतिशतले बढेको छ। आईपीएस कारोबार संख्या ९.५ प्रतिशतले बढ्दा कारोबार रकम १९.५ प्रतिशतले वृद्धि भएको छ।
अर्कोतर्फ, एटीएमबाट नगद झिक्ने कारोबार संख्या ०.४७ प्रतिशतले घटेको छ भने कारोबार रकम २.९ प्रतिशतले बढेको छ। डेबिट कार्ड कारोबार संख्या पनि ०.०६ प्रतिशतले सामान्य घट्दा कारोबार रकम ३.४ प्रतिशतले बढेको छ।
समग्र तथ्यांकले नगदमा आधारित कारोबारको तुलनामा डिजिटल तथा विद्युतीय भुक्तानी माध्यमको प्रयोग तीव्र रूपमा विस्तार हुँदै गएको देखाएको छ। विशेषगरी मोबाइल बैंकिङ, क्यूआर भुक्तानी र वालेटको बढ्दो प्रयोगले दैनिक खुद्रा कारोबारमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग उल्लेख्य रूपमा विस्तार भइरहेको संकेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे