
काठमाडौँ । रसुवातर्फ तिब्बतबाट आएको ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेपछि त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले नदीमा पानीको बहाव निकै बढेको जानकारी दिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बाढीको प्रभावले त्रिशूली नदीको पानीको सतह अचानक बढ्न सक्छ। त्यसैले अर्को सूचना नआएसम्म नदी किनारमा नबस्न र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन भनिएको छ। नदीको बहाव बढेको देखिएमा तत्काल सुरक्षित ठाउँमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएका सूचना पालना गर्न पनि अनुरोध गरिएको छ। मुग्लिनसम्मका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन भनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे