
काठमाडौँ । रसुवामा आएको बाढीपछि उद्धार र राहतको कामलाई सरकारले तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट पनि थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ।
बाढीपीडितलाई सहयोग गर्न विपद् व्यवस्थापन प्राधिकरण, मेडिकल टोली, नेपाल स्काउट र रेडक्रससँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारी पनि भइरहेको छ।
बाढीको जोखिममा रहेका नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। उनीहरूलाई फोन र एसएमएसमार्फत समेत सतर्क गराइएको छ।
उद्धारका लागि सरकारी तथा निजी हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ। आवश्यक थप निर्णय गर्न उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनले सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसके सरकारी निकायबाट आउने उद्धारसम्बन्धी सूचनामा ध्यान दिन अनुरोध गरेका छन्। थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे