
काठमाडौँ । रसुवामा आएको बाढीपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रभावित नागरिकको उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्। उनले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई जिम्मेवार भएर सहयोगमा जुट्न अपिल गरेका छन्।
लामिछानेले बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित ठाउँमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न पनि उनले अनुरोध गरेका छन्।
बाढीसम्बन्धी जानकारी लिँदा सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र विश्वसनीय सञ्चारमाध्यमबाट आएको सूचनालाई मात्र विश्वास गर्न उनले सुझाव दिएका छन्। सामाजिक सञ्जालमा अपुष्ट खबर, हल्ला वा अफवाह नफैलाउन पनि उनले आग्रह गरेका छन्। गलत सूचनाले उद्धारमा समस्या पार्नुका साथै मानिसमा अनावश्यक डर फैलाउन सक्ने उनको भनाइ छ।
उनले पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार, राहत तथा स्वयंसेवी काममा सहभागी हुन आग्रह गरेका छन्।
बुधबार बिहान भोटेकोशी नदीमा आएको अचानक बाढीले स्याप्रुबेसी र टिमुरेलगायत क्षेत्रमा क्षति पुर्याएको छ। सरकारले उद्धार र राहतको काम अघि बढाइरहेको छ। यसबीच विभिन्न दलका नेताले पनि नागरिकलाई सतर्क रहन र सहयोग गर्न अपिल गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे