
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन भएका छन्।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार उद्धार तथा राहत व्यवस्थापनका लागि नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कामलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म हेलिकोप्टरमार्फत २३९ वटा उडान गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ। तीमध्ये नेपाली सेनाका हेलिकोप्टरबाट २११ वटा र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ वटा उडान गरिएको प्राधिकरणले जनाएको छ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी आसपासका क्षेत्रमा गम्भीर जोखिम सिर्जना भएको प्राधिकरणले जनाएको छ। बाढीका कारण तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षतिसमेत भएको छ।
विपद्पछि उद्धार कार्यलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ। जोखिममा रहेका तथा घाइतेको उद्धारलाई प्राथमिकता दिँदै स्थल तथा हवाई माध्यमबाट खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ।
घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितको स्वास्थ्य टोली उपचारमा खटिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित तथा विस्थापितका लागि नेपाली सेनाका ब्यारेकमा अस्थायी आवासको व्यवस्था गरिएको छ। त्यहाँ प्रभावितलाई भोजन, खानेपानी तथा आवश्यक औषधिसमेत उपलब्ध गराउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारसँगै प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र आवश्यक मानवीय सहायता पुर्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे