
काठमाडौँ । आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यात्रुको सहज आवागमन र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रमुख नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा प्रहरीले चाडपर्वका समयमा यात्रु ठगिने, टिकटमा कालोबजारी हुने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता समस्या नियन्त्रणका लागि सहायता कक्ष सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका समयमा हुने टिकटको कालोबजारी, बढी भाडा असुली, टिकटबिनै यात्रु बोक्ने तथा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गर्ने जस्ता गतिविधिमाथि विशेष निगरानी गरिने बताए।
उनका अनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ। यात्रु तथा यातायात व्यवसायीबीच भाडादरलाई लिएर हुने विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहायता कक्षमा सहभागी गराउने प्रस्ताव गरिएको छ।
सहायता कक्षमा विभिन्न गन्तव्यको आधिकारिक भाडादर स्पष्ट रूपमा राखिनेछ। यसबाट यात्रुले तिर्नुपर्ने भाडाबारे सहज रूपमा जानकारी पाउने र भाडाका विषयमा हुने विवाद न्यूनीकरण गर्न सहयोग पुग्ने प्रहरीको अपेक्षा छ।
टिकट बुकिङ प्रणालीलाई व्यवस्थित र जवाफदेही बनाउन टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र लगाउनुपर्नेमा पनि प्रहरीले जोड दिएको छ। परिचयपत्रमार्फत टिकट काट्ने व्यक्ति कुन यातायात समिति वा संस्थासँग आबद्ध छन् भन्ने खुल्ने भएकाले समस्या उत्पन्न भएमा अनुगमन र कारबाही प्रक्रिया अघि बढाउन सहज हुने प्रहरीको भनाइ छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणाली सञ्चालन गर्दा सम्बन्धित रुटमा नियमित रूपमा चल्ने सवारीसाधन र अभ्यस्त चालकलाई प्राथमिकता दिनुपर्ने डीएसपी शाहले बताए। अपरिचित रुटमा नयाँ चालक खटाउँदा सडकको अवस्था, घुम्ती, खाल्डाखुल्डी तथा जोखिमयुक्त स्थानबारे पर्याप्त जानकारी नहुन सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने उनले बताए।
उनका अनुसार झापातर्फ नियमित चल्ने बसलाई सोही रुटमा तथा पोखरातर्फ नियमित चल्ने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई सडकको अवस्था र जोखिमयुक्त क्षेत्रबारे राम्रो जानकारी हुने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्न सक्छ।
यसैबीच, दशैँका समयमा अत्यधिक सवारी चाप हुने कलंकी–नागढुंगा सडकखण्डलाई प्रहरीले विशेष प्राथमिकतामा राखेको छ। चाडपर्व सुरु हुनुभन्दा करिब चार दिनअघिदेखि बढ्ने सवारी चापलाई व्यवस्थापन गर्न उपलब्ध जनशक्तिलाई अधिकतम रूपमा परिचालन गरी ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे