
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्। शुक्रबार सम्पन्न एशोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
यसअघि एशोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थकालीलाई साधारणसभाले अध्यक्षको जिम्मेवारी दिएको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकहरूको संस्थागत सुदृढीकरण, सुशासन, जोखिम व्यवस्थापन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर एशोसिएसनका गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले बैंकिङ क्षेत्रका समसामयिक चुनौती समाधानका लागि सदस्य बैंकहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै कर्जा गुणस्तर सुधार, कर्जा असुलीलाई प्रभावकारी बनाउने तथा प्रविधि र मानव संसाधनको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।
थकालीले विकास बैंकहरूबीच ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासको आदानप्रदानलाई प्रोत्साहन गर्दै नियामक निकाय र अन्य सरोकारवालासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाए।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
थकालीकै अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण छलफलपछि स्वीकृत गरेको हो।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरिएको एशोसिएसनले जनाएको छ। साधारणसभामा सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले निवर्तमान पदाधिकारीहरूले एशोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाको सम्बोधन तथा नीतिगत पैरवीमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ।
एशोसिएसनका अनुसार मुलुकमा हाल सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये आठ राष्ट्रियस्तरका र नौ क्षेत्रीयस्तरका छन्। ती बैंकहरूले २०८३ असार मसान्तसम्म देशभरका एक हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन्।
विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको एशोसिएसनले सदस्य बैंकहरूको साझा हित संरक्षण, बैंकिङ क्षेत्रका समस्या समाधान तथा नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय र सम्बन्धित संस्थाहरूसँग समन्वय गर्दै आएको छ।
यसका अतिरिक्त एशोसिएसनले सदस्य बैंकहरूको संस्थागत क्षमता अभिवृद्धि, प्रविधिमा आधारित बैंकिङ प्रणालीको विकास, जोखिम न्यूनीकरण तथा साझा चुनौतीको समाधानका लागि विभिन्न कार्यशाला र सहकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे