
काठमाडौं । रसुवामा भदौ १० गते आएको बाढीपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको खोजी गर्दा दुई जनाको शव भेटिएको छ। आयोजनाका प्राविधिक र सुरक्षाकर्मीले सुरुङभित्र करिब १५० मिटर गएर बाक्लो पाइप काटी बाटो बनाएपछि शव फेला पारेका हुन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शव बाहिर निकालेको छ।
आयोजनाका ४१ जना कर्मचारी तथा कामदार सम्पर्कविहीनमध्ये २५ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ। यसअघि १९ जनाको भने जीवितै उद्धार गरिएको थियो। सुरुङमा फसेका अन्य व्यक्तिको खोजी अझै जारी छ।
बाढीले उद्धारका उपकरणसमेत बगाएपछि काठमाडौंबाट विशेष उपकरण ल्याएर आयोजनाका प्राविधिकले राति नै पाइप काटेका थिए। सुरुङको तल्लो भाग लेदो र ढुंगामाटोले भरिएको भए पनि माथिल्लो भाग खुला रहेको बताइएको छ।
आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले सुरुदेखि नै प्राविधिक टोली परिचालन भएको भए केही थप मानिसको ज्यान बचाउन सकिने सम्भावना रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे