
मुस्ताङ– हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ मंगलबारदेखि सुरु भएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असरबारे छलफल गर्दै न्यूनीकरण र अनुकूलनका उपाय पहिचान गर्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
घरपझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल गरिने गाउँपालिकाले जनाएको छ।
सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसअनुसार स्थानीय समुदायले अपनाउन सक्ने अनुकूलनका उपायबारे सरोकारवालाबीच अन्तर्क्रिया गरिनेछ। स्थानीय तहबाट सञ्चालन गर्न सकिने कार्यक्रम, नीति निर्माण तथा जलवायुजन्य जोखिम व्यवस्थापनका उपायबारे समेत छलफल हुने जनाइएको छ।
पछिल्लो समय हिमाली क्षेत्रमा मौसमको स्वरूपमा परिवर्तन, हिमपात हुने समय तथा परिमाणमा आएको असामान्यता, अनियमित वर्षा र पानीका स्रोतमा देखिएको परिवर्तनले स्थानीय जनजीवन प्रभावित हुन थालेको छ। जलवायु परिवर्तनको असर वातावरणमा मात्र सीमित नरही कृषि प्रणाली, पशुपालन, पर्यटन, खानेपानी तथा दैनिक जीवनयापनमा समेत देखिन थालेको भन्दै स्थानीय समुदायले चिन्ता व्यक्त गर्दै आएका छन्।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले स्थानीयस्तरमा जलवायु परिवर्तनसँग अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट जलवायु न्याय र आवश्यक सहयोगका लागि ध्यानाकर्षण गराउन सम्मेलन आयोजना गरिएको बताए।
उनका अनुसार सम्मेलनमार्फत मुस्ताङसहित हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाका रूपमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा स्थापित गराउने प्रयास गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि स्थानीय तहबीच सहकार्य र आवश्यक नीतिगत पहलका विषयमा समेत सम्मेलनमा विचारविमर्श हुने उनले बताए।
सम्मेलनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहबाट गर्न सकिने काम तथा आवश्यक नीतिगत पहलका विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र आवश्यक सहयोगबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने आधारसमेत सम्मेलनले तयार गर्ने आयोजकको विश्वास छ।
जोमसोममा आयोजित सम्मेलनमा देशभरका ४२१ वटा पालिका तथा ३६ वटा जिल्ला समन्वय समितिको सहभागिता रहेको जनाइएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम तय गरिएको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थापामगरले जानकारी दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे