
रसुवा। भोटेकोशी बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा खाद्यसामग्री पुर्याउन कठिनाइ भइरहेका बेला सरकारले आजदेखि हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री पठाउन थालेको छ। बाढी प्रभावित नागरिकका लागि दाल, चामल, नुन, तेललगायतका सामग्री हवाई माध्यमबाट वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान तीनवटा हेलिकप्टरमार्फत करिब १५ क्विन्टल राहत सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको छ। आवश्यकता र प्रभावित क्षेत्रको अवस्थाका आधारमा थप हेलिकप्टर परिचालन गरी अत्यावश्यक खाद्यसामग्री पुर्याउने तयारी गरिएको कार्यालयले जनाएको छ।
भोटेकोशी बाढीका कारण जिल्लाको मुख्य सडक तथा विभिन्न पुलमा क्षति पुगेपछि स्थलमार्गबाट राहत सामग्री पुर्याउन समस्या भएको हो। सडक सम्पर्क प्रभावित भएका खैबी, डाँडागाउँ, हाकु, ठूलोगाउँ, शेर्पागाउँ, खाम्जिङलगायतका बस्तीलाई प्राथमिकतामा राखेर राहत सामग्री पठाइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत सामग्री वितरण भइरहेको छ। तत्कालको आवश्यकता र प्राथमिकताका आधारमा नुन, तेल, दाल, चामललगायतका खाद्य सामग्री उपलब्ध गराइने उनले बताए।
अधिकारीले बाढीपीडितको उद्धार तथा राहतका लागि सरकारी संयन्त्र निरन्तर परिचालित रहेको उल्लेख गर्दै जिल्लावासीलाई नआत्तिन आग्रह गरे। उनका अनुसार उद्धार तथा राहत वितरणसँगै अवस्था सामान्य भएपछि पुनर्निर्माण र पुनःस्थापनाका कामसमेत अघि बढाइनेछ।
राहत सामग्री वितरण तथा प्रभावितको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैबीच, विपद्को समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वास्तविक तथा आधिकारिक जानकारीका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्नसमेत कार्यालयले जिल्लावासीलाई अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे