
काठमाडौँ । बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको बाढीले रसुवागढी भन्सार क्षेत्रमा रहेका करिब ५०० वटा सवारीसाधन बगाएको अनुमान गरिएको छ। भन्सार कार्यालयका अनुसार वारीपारी दुवैतर्फ पार्क गरिएका व्यवसायीका गाडी बाढीमा बगेका छन्। त्यहाँ बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको र नामी लगायतका ब्रान्डका गाडी रहेका थिए।
केही दिनदेखि गाडी आवतजावतमा रोक लगाइएकाले धेरै सवारीसाधन भन्सार क्षेत्रमा रोकिएका थिए। त्यसैले क्षति भएको गाडीको संख्या ठूलो हुन सक्ने व्यवसायीहरूले बताएका छन्। तर, अहिलेसम्म वास्तविक संख्या र क्षतिको विवरण यकिन हुन सकेको छैन।
तिब्बततर्फबाट आएको अचानक बाढीले रसुवागढी भन्सारको संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ। भन्सारका केही कर्मचारीले ज्यान जोगाउन हतारमा भाग्दा फोन तथा अन्य सामान छाडेका छन्। त्यसैले सबै विवरण संकलन गर्न समय लाग्ने अर्थ मन्त्रालयले जनाएको छ।
रसुवागढी भन्सारमा ३६ कर्मचारीको दरबन्दी रहेकामा दुई जना बिदामा थिए। भन्सारको यार्डमा रहेका सबै गाडी बाढीले बगाएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे