
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंकका अनुसार सभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली ब्यांक्वेटमा हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ। यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिने बैंकले जनाएको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ।
वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्तावसमेत पेस गरिने भएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेलगायतका अन्य प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।
बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भदौ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे