
काठमाडौँ । उद्घाटन भएको करिब एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारीका लागि खुला गरिएको छ। अहिले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कार, जीप र भ्यानजस्ता ९ जनासम्म यात्रु अट्ने सवारीलाई परीक्षणका रूपमा सुरुङ प्रयोग गर्न दिइएको छ।
परीक्षण अवधिमा कुनै शुल्क लाग्ने छैन। चालकको अनुभव र सुरुङमा देखिएका समस्याको अध्ययन गरेपछि अन्य सवारीलाई पनि प्रवेश दिने तयारी गरिएको छ। सुरुङमा सवारीको गति बढीमा ४० किलोमिटर प्रतिघण्टा हुनुपर्नेछ। हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्ने, सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था छ।
पैदलयात्री, मोटरसाइकल तथा ज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमा प्रवेश निषेध गरिएको छ। सीसीटीभीबाट सुरुङभित्रको निगरानी भइरहेको छ।
करिब २९ अर्ब रुपैयाँ खर्चमा बनेको यो सुरुङको मुख्य भाग २.६८ किलोमिटर लामो छ। कोभिड–१९ र मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो। नियमित सञ्चालनपछि भने सवारीअनुसार शुल्क तिर्नुपर्नेछ। यसअघि सोमबारदेखि गुर्जुधाराको फ्लाइओभर पनि सञ्चालनमा आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे