
काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएको छ। प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेपछि बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाउन थालेका छन्। यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा समेत देखिएको छ।
भदौमा २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन्। अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरूले व्यक्तिगत निक्षेपमा दिने औसत अधिकतम ब्याजदर भदौमा ४.१३६ प्रतिशत कायम भएको छ। साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो। यसअनुसार एक महिनाको अवधिमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ०.०३१५ प्रतिशतविन्दुले घटेको छ।
संस्थागत निक्षेपको ब्याजदरमा पनि सामान्य कमी आएको छ। साउनमा संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर ३.११६ प्रतिशत रहेकोमा भदौमा घटेर ३.०८१ प्रतिशत कायम भएको छ। निक्षेपको ब्याजदरमा आएको यो कमीले बैंकिङ प्रणालीमा नयाँ निक्षेप आकर्षित गर्नभन्दा उपलब्ध स्रोतको लागत घटाउनेतर्फ बैंकहरूको ध्यान केन्द्रित भएको संकेत गरेको छ।
भदौका लागि ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपतर्फ सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२९ प्रतिशतविन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.२० प्रतिशतविन्दुले घटाएर ३.०५ प्रतिशतमा झारिएको छ।
नेपाल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने बैंकले ०.५० प्रतिशतविन्दुको कटौती गर्दै ब्याजदर ३.५० प्रतिशतमा सीमित गरेको छ।
त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ३.७६ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत ब्याजदर कायम गरेका छन्।
भदौमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने वाणिज्य बैंकको संख्या १५ रहेको छ। नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंक व्यक्तिगत निक्षेपमा तुलनात्मक रूपमा उच्च ब्याजदर दिने बैंकको सूचीमा छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलगायतले पनि साउनमा कायम गरेको ब्याजदरलाई नै भदौमा निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसअनुसार कर्जाको माग विस्तार हुन सकेको छैन। निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह अपेक्षाकृत सुस्त रहने अवस्थाले बैंकहरूको लगानीयोग्य रकममा दबाब बढाएको छ। यस्तो अवस्थामा निक्षेप आकर्षित गर्न उच्च ब्याजदर कायम गर्नुभन्दा उपलब्ध स्रोतको लागत घटाउने रणनीति बैंकहरूले अपनाएका हुन्।
तरलता सहज रहने र कर्जाको मागमा अपेक्षित सुधार नआउने अवस्था कायम रहेमा आगामी महिनाहरूमा पनि निक्षेपको ब्याजदरमा ठूलो वृद्धि हुने सम्भावना कमजोर देखिन्छ। निक्षेपको ब्याजदर घट्दा बचतकर्ताले पाउने प्रतिफलमा दबाब पर्न सक्ने भए पनि बैंकहरूको स्रोत लागत कम हुँदा कर्जाको ब्याजदरलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्न सक्छ। यसले आगामी दिनमा कर्जा विस्तार र समग्र आर्थिक गतिविधिमा समेत प्रभाव पार्न सक्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे