
काठमाडौँ। भदौ १० गतेको भोटेकोशी बाढी तथा त्यसपछि देशका विभिन्न क्षेत्रमा भएका विपद्का घटनालाई लक्षित गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी खोज, उद्धार, शव व्यवस्थापन तथा अन्तरनिकाय समन्वयको काम अघि बढाएको छ।
प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापना गरिएको केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहेका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको खोजी, फेला परेका शवको व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ।
केन्द्रमा विभिन्न डेस्क स्थापना गरी अस्पताल तथा अन्य स्थानमा संकलन भएका शवको विवरण, तस्बिर र भिडियो संकलन गर्ने काम भइरहेको छ। ती विवरणलाई पीडितका आफन्तसँग समन्वय गरी पहिचान खुलाउने तथा पहिचान भएका शवलाई कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए।
उनका अनुसार केन्द्रले देशभरबाट बेपत्ता भएका व्यक्तिको विवरणसमेत संकलन गरी व्यवस्थित अभिलेखीकरण गरिरहेको छ। बेपत्ता व्यक्तिको विवरणसँग फेला परेका शव तथा मानव अंगका तस्बिर र भिडियो मिलान गरी सम्भावित पहिचान कायम गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। उद्धारका क्रममा आवश्यक स्वास्थ्य सेवा, चिकित्सकीय सहयोग तथा जनशक्ति परिचालनमा समेत केन्द्रबाट समन्वय भइरहेको छ।
विपद् प्रभावित तथा उद्धारसम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समन्वय अधिकृत तोकिएको छ। केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार विपद्का कारण हालसम्म ६ सय ६९ वटा शव तथा मानव अंग फेला परेका छन्। तीमध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका, २० बालक तथा २ सय ११ वटा मानव अंग रहेका छन्। फेला परेका शवमध्ये हालसम्म २० जनाको पहिचान खुलेको र कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
यस्तै, विपद्का घटनामा २ हजार ३ सय ६२ जना बेपत्ता भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। बेपत्तामध्ये १ हजार ५ सय ९१ जना नेपाली पुरुष, २ सय ६४ जना नेपाली महिला तथा ५ सय २३ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकतर्फ २ सय २३ पुरुष र ३ सय महिला रहेको प्रहरीले जनाएको छ। विपद्को क्रममा २६ जना प्रहरी कर्मचारीसमेत बेपत्ता छन्।
प्रहरीका अनुसार हालसम्म २ हजार ३ सय १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका तथा विस्थापित नागरिकको अस्थायी व्यवस्थापनका लागि नुवाकोटमा नौवटा होल्डिङ सेन्टर स्थापना गरी करिब १ हजार जनालाई राखिएको छ। धादिङमा समेत होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
बेपत्ता तथा फेला परेका व्यक्तिको पहिचानमा सहजता ल्याउन नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध विवरण, तस्बिर तथा भिडियो सार्वजनिक गरेको छ। नागरिकले वेबसाइटमा राखिएका सामग्री हेरेर आफ्ना आफन्तबारे जानकारी लिन सक्ने र पहिचान खुलेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे