
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब २.३ प्रतिशत घटेर प्रतिब्यारेल ९२ डलर आसपास पुगेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि समान दरले घटेको छ।
तेलसँगै एसियाका धेरै सेयर बजारमा पनि गिरावट देखिएको छ। दक्षिण कोरियाको कोस्पी सूचक १.४ प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई र ताइपेईका बजार पनि ओरालो लागेका छन् भने केही बजारमा भने वृद्धि भएको छ। हङकङको सेयर बजार २ प्रतिशतभन्दा बढी घटेको छ।
यसैबीच, लगानीकर्ताको ध्यान अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनमा केन्द्रित भएको छ। एआई प्रविधिमा ठूलो लगानी भइरहेका बेला त्यसबाट पर्याप्त नाफा आउँछ कि आउँदैन भन्ने विषयमा लगानीकर्ता चिन्तित छन्।
चिनियाँ कम्पनी अलिबाबाले एआई पूर्वाधार विस्तार गर्न १०.२ अर्ब डलर बराबरको नयाँ शेयर जारी गर्ने योजना बनाएको छ। यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारीहरूको बैठकले आगामी मौद्रिक नीतिबारे थप संकेत दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे