
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका लागि आपत्कालीन बैठक बोलाएका छन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र थप क्षति रोक्न आवश्यक कदमबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाइएको हो।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। अन्य जिल्लाबाट पनि थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ। विपद् प्राधिकरणले मेडिकल टोली, रेडक्रस र स्काउटसँग समन्वय गरी उद्धार तथा राहतको काम अघि बढाएको छ। थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ। सम्भावित उद्धारका लागि सरकारी तथा निजी हेलिकप्टरसमेत परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्। सरकारले प्रभावित क्षेत्रमा आवश्यक थप कदमबारे उच्चस्तरीय बैठकमार्फत निर्णय गर्ने जनाएको छ।
सरकारले नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसके आधिकारिक उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे