
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुको कारणबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएका छन्। उनले स्वास्थ्य परीक्षणको रिपोर्टसहित पत्र पठाउँदै आँखाको समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको बताएका हुन्।
संसद् बैठकमा कालो चस्मा प्रयोग गरेको विषयमा सभामुख डोलप्रसाद अर्यालले चासो जनाएका थिए। उनले स्वास्थ्य कारण भए त्यसको जानकारी र परीक्षण रिपोर्ट उपलब्ध गराउन आग्रह गरेका थिए। त्यसपछि प्रधानमन्त्रीको कार्यालयले स्वास्थ्यसम्बन्धी विवरण सचिवालयमा पठाएको हो।
प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन्। उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। परीक्षणबाट उनलाई उज्यालोमा हेर्न गाह्रो हुने र आँखामा सुक्खापनको समस्या रहेको देखिएको छ। आँखाको सुक्खापनका कारण समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने अवस्था रहेको रिपोर्टमा उल्लेख छ।
यही स्वास्थ्य समस्याका कारण उज्यालोबाट आँखालाई जोगाउन प्रधानमन्त्रीले कालो चस्मा प्रयोग गर्दै आएको जानकारी संसद् सचिवालयलाई दिइएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे