
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव बढेपछि बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढी स्याप्रुबेसीसम्म पुगिसकेको छ। शुक्रबार दिउँसो सूचना जारी गर्दै महाशाखाले त्रिशूली नदीको किनारमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। यो सतर्कता मुग्लिनसम्म लागू हुने जनाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवाको भोटेकोशी क्षेत्रमा लेदोसहितको बाढीको खतरा बढेको जनाएको छ। यसअघि भदौ १० गते ठूलो बाढी आएको सोही क्षेत्रमा फेरि पानी र लेदोको बहाव बढेको सूचना प्राप्त भएको प्राधिकरणले बताएको छ। माथिल्लो क्षेत्रमा लेदो बढेकाले थप ठूलो बाढी आउन सक्ने जोखिम अझै रहेको छ।
प्राधिकरणले नदी किनारमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र जोखिम क्षेत्रमा रहेका सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदीको पानी बढेको, लेदो आएको वा अन्य कुनै खतरा देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जान भनिएको छ।
यसअघि नेपाल प्रहरीले पनि तिब्बततर्फ फेरि ड्याम फुटेको सूचना आएको भन्दै त्रिशूली र भोटेकोशी नदी आसपासका मानिसलाई सुरक्षित रहन आग्रह गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे