
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गर्ने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। एमालेका सचेतक रमेशकुमार बस्नेतले यसबारे जानकारी दिएका छन्।
मुख्यमन्त्री कार्कीले सोमबार दिउँसो २ बजे प्रदेशसभामा तेस्रोपटक विश्वासको मत लिन लागेका छन्। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिपछि प्रदेश सरकारको समीकरण परिवर्तन भएको हो।
यसअघि सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कांग्रेसले भदौ ३ गते समर्थन फिर्ताको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
एमाले र नेकपाबीच गत साउन ९ गते सरकारमा सहकार्य गर्ने सहमति भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे