
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले पाँच बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नआएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा चार जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन, सभा वा धर्ना गर्न रोक लगाइएको छ।
प्रशासनले निषेधाज्ञा उल्लङ्घन गरेमा कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। प्रशासनका अनुसार शान्ति–सुरक्षा कायम राख्न र थप अप्रिय घटना हुन नदिन यो निर्णय गरिएको हो।
आइतबार राति भएको झडपका क्रममा गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा आठ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यद्यपि, ओमप्रकाशको मृत्यु सशस्त्र प्रहरीको गोली लागेर भएको हो भन्ने कुरा अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र निष्कर्ष आएपछि मात्र वास्तविक कारण सार्वजनिक गरिने जनाएको छ। घटनाका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको तथा २४ भन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे