
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै तीन वाणिज्य बैंकमाथि फरक–फरक प्रकृतिको कारबाही गरेको छ। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत गराएको छ भने प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने प्रतिबद्धतासहित कबुलियतनामा गराएको छ। प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई भने ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ मा तोकिएको व्यवस्थाविपरीत सम्बन्धित निकायबाट अनुरोध प्राप्त भएपछि समयमै बैंक खाता रोक्का नगरेको पाइएको थियो। नियामकीय निर्देशन उल्लंघन गरेको ठहर गर्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(क) बमोजिम बैंकलाई पहिलो पटक सचेत गराइएको हो।
त्यस्तै, कृषि विकास बैंकले पनि ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ तथा त्यसको प्रथम संशोधनमा रहेको व्यवस्थाअनुसार समयमै बैंक खाता रोक्का नगरेको राष्ट्र बैंकले जनाएको छ। सोही कारण बैंकलाई पहिलो पटक सचेत गराउँदै भविष्यमा सम्बन्धित निकायबाट अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
प्रभु बैंकको हकमा भने राष्ट्र बैंकले तुलनात्मक रूपमा कडा कारबाही गरेको छ। समष्टिगत स्थलगत निरीक्षणका क्रममा देखिएका गम्भीर प्रकृतिका कैफियत सुधार गर्न राष्ट्र बैंकले यसअघि पटक–पटक निर्देशन दिए पनि आवश्यक सुधार नभएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार २०८१ सालको निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियत सुधार गर्न निर्देशन दिइएको थियो। तर, २०८२ सालमा गरिएको जोखिममा आधारित निरीक्षणका क्रममा समेत अपेक्षित सुधार नभएपछि बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम अवलम्बन गर्ने प्रतिबद्धतासहित कबुलियतनामा गराइएको हो। यस्तो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ख) बमोजिम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई समेत राष्ट्र बैंकले व्यक्तिगत रूपमा कारबाही गरेको छ। कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, आवश्यक कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा निरीक्षणका क्रममा औँल्याइएका अधिकांश कैफियत सुधार नगरेको राष्ट्र बैंकको निष्कर्ष छ।
त्यसका साथै, राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त विवरणबीच समेत असमानता देखिएको राष्ट्र बैंकले जनाएको छ। यी कमजोरीका आधारमा शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको हो।
तीनवटै बैंकमाथिको कारबाहीले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशन, खाता रोक्का तथा फुकुवा प्रक्रिया, कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थालगायतका विषयमा तोकिएका प्रावधानको प्रभावकारी रूपमा पालना गर्नुपर्ने राष्ट्र बैंकको नियामकीय सन्देशलाई थप स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे