
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका प्रमुख शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका लागि विभिन्न शिवालय पुगेका छन्।
साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्दै आएका व्रतालु महिलाले आज विधिपूर्वक व्रत समापन गर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार व्रत बसेर भगवान् शिवको पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
भगवान् शिवलाई साउनको सोमबार विशेष प्रिय दिनका रूपमा लिइने भएकाले यस दिन श्रद्धालुहरूले व्रत, पूजापाठ, दान तथा धार्मिक अनुष्ठान गर्ने गरेका छन्। साउनको अन्तिम सोमबार भक्तजनको संख्या अझ बढी हुने भएकाले पशुपतिनाथ मन्दिरमा व्रतालु तथा दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध भएका थिए।
यस अवसरमा बोलबम तीर्थालुको समेत देशभरका शिवालयमा चहलपहल बढेको छ। बोलबम तीर्थालुहरूले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा अर्पण गर्दै पूजाआजा गर्ने गरेका छन्।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, पूर्वको प्रसिद्ध हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।
त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबारको अवसरमा पूजा तथा दर्शन गर्ने श्रद्धालु र बोलबम तीर्थालुको घुइँचो लागेको छ। विभिन्न शिवालयमा धार्मिक अनुष्ठान, पूजापाठ तथा मेलाका कारण भक्तजनको चहलपहल बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे