
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
हुआङले गरेको सहयोगबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत जानकारी दिएका हुन्। उनले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हुआङबाट उक्त रकम प्राप्त भएको पुष्टि गरेका छन्।
अर्थमन्त्री वाग्लेले नेपाललाई विपद्को कठिन परिस्थितिमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको भन्दै हुआङप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन्। उक्त सहयोग कुनै बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त हालसम्मकै ठूलो सहयोगमध्ये एक रहेको बताइएको छ।
यसैबीच, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको जानकारी दिएका छन्। कोषमा संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि परिचालन गरिने उनले बताएका छन्।
सरकारले बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइरहेको जनाएको छ। कोषमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे