
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि जीवितै उद्धार गरिएकाले अझै आशा बाँकी रहेको बताएका छन्।
उनले विपद्को समयमा मन्त्रालयको कार्यालयमा बसेर कागजपत्र हेर्ने पुरानो शैलीमा मात्र काम नगरिएको स्पष्ट पारे। उनका अनुसार सम्बन्धित मन्त्रालयका उच्च अधिकारीसहित विपद् प्रतिकार्य कमान्ड सेन्टरबाट उद्धार तथा व्यवस्थापनको काम भइरहेको छ।
गुरुङले हरेक चार घण्टामा बैठक बसेर घटनाको अवस्था बुझ्ने र आवश्यक रणनीति बनाउने गरिएको बताए। विगतमा घटनास्थलको वास्तविक अवस्था नबुझी कार्यालयबाटै नेतृत्व गर्ने परम्परा रहेको भन्दै उनले त्यसबाट अपेक्षित परिणाम नआएको बताए।
अहिले डिजिटल प्रविधिको प्रयोग गरेर कामलाई छिटो र प्रभावकारी बनाइएको उनको भनाइ छ। त्यसैले आफू कहाँ बसेर काम गरिरहेको भन्ने विषयभन्दा उद्धार र व्यवस्थापनमा कस्तो परिणाम आयो भन्ने कुरालाई महत्व दिन उनले आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे