
काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा हुनेछ। बैठकमा यसअघि सांसदहरूले सोधेका तर जवाफ दिन बाँकी मौखिक तथा लिखित प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गर्नेछन्।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ। साथै केही नेपाल ऐन, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फोहोरमैला व्यवस्थापन तथा महिला, बालबालिका र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राखिनेछ।
स्वास्थ्यसम्बन्धी विभिन्न विधेयकहरू पनि समितिमा छलफलका लागि पठाउने तयारी छ। यसैगरी संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा र सुविधासम्बन्धी संशोधन विधेयक पारित गर्ने कार्यसूची छ।
सभामुखले लामो समयसम्म बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्नेछन् भने राष्ट्रपतिबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।
राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। त्यहाँ पनि बाँकी प्रश्नका जवाफ मन्त्रीहरूले दिनेछन्। प्रतिनिधिसभाबाट संशोधनसहित फर्किएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा भएको संशोधन स्वीकार गर्ने प्रस्ताव पेस हुनेछ। साथै आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे